गायत्री खतिवडा
म आरामका कविता लेख्छुम खुसीका कविता लेख्छु
हाँस्य रसमा चोपेर
बगैचामा फुलाएर रङ्गीन दुनिया सजाउछु
म आफ्ना कवितालाई प्रेम दिन्छु
स्वतन्त्रता भोग्छु अनि
खुला वातावरणमा रमाउछु
म रातका अँधेरी कवितालाई दिन्छु
सपना भरिका मिठास यथार्थमा घोलेर
मसि बनाउँछु
म आफ्ना कवितामा विश्व फैलाउँछु
म मेरो कवितामा संसार मौलाउँछु
म मातृत्व देखि प्रणय सम्म
घुसेर अनुभूति गाँसेर कवितालाई पहिराउछु
मानवता र भातृत्वका पक्ष लिने
मेरा कविताले सारा सृष्टि समेट्छन
म पहराको बावियो देखि
तलाउका कमल सम्म पुग्छु
लहरा पहरा ताल सागर सबैबाट
एक रस निकाल्छु सुधा युक्त
कविताले हृदय सजाउछु
म आरामका कविता लेख्छु
म रोदनका कविता लेख्छु
म एकान्तमा पिल पिल गर्ने झुपडीमा बस्छु
त्यहाँको दुःखमा झुलेको शिशुका चित्कार
अनि आमाको स्नेहालु
फरियाका मुजामा लुटपुटिदै गरेको
शिशुको टिठ लाग्दो अनुहार हेर्ने
विवश बाबुको रोदन देख्छु
आँखा नदेख्ने संसारबाट रङ्ग विहिन
अन्धालाई म मेरो कवितामा लेख्छु
लङ्गडाको बैशाषीलाई मसि दिन्छु
म मेरो कवितामा भूगोल समेट्छु
विज्ञान खोतल् छु अनि
निर्जिव माटोमा जीवन भरेर सार्थक तुल्याउछु
यसरि म आफ्ना कवितामा साँच्चै
सजिवता लेख्छु
जहाँ कसैले हस्ताक्षेप गरी
निर्जिव नभनोस
म आरामका कविता लेख्छु
म दुःखमा झुल्ने खुसीका कविता लेख्छु
म यस्तै चित्रमा रङ्ग भर्छु
म सजिव पानामा सजिब मसि पोख्छु
तब म अनुभुतिका कविता लेख्छु
No comments:
Post a Comment