नीरु त्रिपाठी
तिमी आउछौ हरेक रातलिएर प्रेमका श्यामल स्वप्नहरु
मेरो हात समाई
अटुट प्रेमको विश्वास दिलाई
एउटै मालामा उन्छौ हाम्रा रहरहरु ।
लाखौ करोडौ फूलको गुच्छाहरुबाट चुनेर सजाएकी तिमीलाई
कालो गाजल लगाई
परितृप्ति चुम्बन दिई
कृपा दृष्टि राखिदिनु भनेकी छु चखेवालाई ।
मेरो काखमा लुटु पुटु गरिरहने तिम्रो त्यो बानी
ती आनन्दित तातो तिम्रो श्वास सम्झी
नीख रातमा तिम्रै स्तुति गर्दै
तिमीलाई देख्न सक्छु हावाको अदृश्य मौनतामा पनि ।
पुलकित भइरहेछ मनगगन सजाएर हाम्रो सौन्दर्यमय प्रेमलाई कवितामा
लय तिमी हौ
शब्द तिमीलाई नै प्रिय
सुसज्जित छौ अन्तःस्करणमा
अमृत हौ यो मेरो प्राणमा ।
तिमी प्रकाशलाई प्रकाशमय बनाउछौ
मेरो आसुँलाई समालेर राख्दछौ
किन गर्छाै यति धेरै माया ?
आफुलाई नै पगालेर मलाइृ रोशनी दिने गर्छाै ।
काल कालान्तर सम्म भइरहोस हाम्रो प्रेमदिपमा तेलसङ्गम
अनिमेष दृष्टिले तिम्रो स्तब्ध प्रतिक्षा
तिम्रो उन्मत्त दुःखको त्यो स्वर्ण शिथिलता
कसरि बिर्सु समिपताको त्यो निस्फिर्क निन्द्रामा भेटिएको उमङ्गता ।
तिमी छौ आज दूर दूर म बाट
तिमीलाई अन्तःपुरमा कोर्दै
तिम्रो सुखस्पर्श महशुस गर्दै
अन्तिम बिन्ति नजाउ टाढा यो हृदयस्थलबाट ।।
No comments:
Post a Comment